इन्द्रिय सुखको भोगाइमा अनुशासन (Discipline in Sensory pleasure experience)
प्रा. डा. धनरत्न शाक्य
Email- [email protected]
जीवित चराचर र प्राणी मात्रलाई प्रकृतिले नै जीवनको लागि खानपिनको स्वाद, गन्ध, ध्वनिको श्रवण, दृश्य र स्पर्शको भोगाई आवश्यक बनाएको देखिन्छ । जीवनको सुरुवातसँगै नै अन्नपानी (पोषण), अक्सिजन, न्यानो चाहिन्छ । यो विना जैविक प्रक्रिया रोकिन्छ । यस हिसाबले मानिस अरु जीव जस्तै हो । जीवन चलाउनको लागि प्रकृतिले नै यी कुराहरु भोग्नुपर्ने बाध्यतामा राखेको छ । मानिस निद्रा, आहारा, आराम, भयबाट छुट्कारा जस्ता आवश्यकताहरुको दृष्टिकोणले पशुसँग समान हो भन्न सकिन्छ ।
इन्द्रिय भोगका यी कुराहरुमा नियन्त्रण, अनुशासन र नियमको पालना नहुने हो र जे मन लाग्यो त्यो गर्दै हिँड्ने हो भने मान्छे अरु पशु र जनावरहरु भन्दा पनि झन् गएगुज्रेको, निकृष्ट र तल्लो स्तरको हुने देखिन्छ । पेट भरेको बाघले अगाडिबाट गुज्रेको हरिणलाई पनि केही गर्दैन । लोभी मानिस टन्न खाएर डकारेको अवस्थामा पनि मीठो कुरा अगाडि ल्यायो भने फेरि खानमा लालायित हुन्छ । जनावर पनि निश्चित समय र ऋतुमा मात्रै मैथुन वा रतिक्रियामा सहभागी हुन्छ तर मान्छे लम्पट छ भने समय, परिस्थिति, नातागोता, स्वास्थ्य, उचित, अनुचित, भविष्य, केही वास्ता, विचार वा ख्याल नराखी यौनाचारमा लिप्त हुनपुग्छ । यसले गर्दा मानव सभ्यताका विभिन्न कालखण्डहरुमा कुनै न कुनै यौनरोगहरु र यौन विकृतिजन्य जटिलताहरुले जीवन र जगत्लाई थिलथिलो बनाएकै छ । प्रकृतिमा चराचर र पशुलाई पनि थाहा छ, राती आराम गर्ने बेला हल्ला गर्न र वातावरण अशान्त बनाउन मिल्दैन । तर मानिस त यस्तो छ कि उनीहरुमध्ये कतिलाई नियम, नीति, धर्मभन्दा बाहिर गएर केही गर्नमा ; भविष्य, भावी पुस्ता, समाज र अरु मानिसलाई खराब असर र त्रास हुने काममा रोमाञ्चित अनुभव हुन्छ । अरुको भाग लुटेर खान, निमुखा, कमजोर वा आफैंलाई गुण लगाउने अर्को मानिसलाई पनि डर, धम्की, समस्या र तनावमा राख्नमा ऊ भित्रभित्रै रमाउँछ र मध्यरातमा पनि बेफिक्री चर्को स्वरमा बाईक या गाडी दौडाउनमा मज्जा लाग्छ, अरुको जीवन तहसनहस पारेर आफ्नो परिवार र दुनियाँ बसाउनुमा सफलता देख्छ । बढ्दो आवश्यकता, तृष्णा, इच्छा, आकांक्षा, तिनका माध्यम र प्रविधिका कारण मानिस आफैंले खनेको खाडलमा (बहुसंख्यक मानिसलाई) निस्कनै गाह्रो पर्ने हिसाबले खसेको अवस्था देखिँदैछ । मोबाइल, इन्टरनेटको दुरुपयोग र लत बच्चादेखि वृद्ध, अनपढदेखि बुद्धिजीवी सबैलाई गाँज्नेवाला सेन्सरी प्लेजर बन्दैछ । अब आवारापन, रात्री जीवन र कोलाहल यो युगको सूचक बन्दैछ । तनाव, जटिलता र अन्तरद्वन्द्वले एक्काइसौं सदि आक्लान्त देखिदैछ । आजभोलि नशामा यातायातका साधन चलाउँदा हुने सप्ताहन्त दुर्घटनाहरु बढेको तथ्यांकले उसलाई छुँदैन । ऊ नै दुर्घटना, नशाको जटिल विथड्रल वा रोगबाट इमर्जेन्सीमा सिकिस्त भएर आउँदा र परिवारजन शोकमग्न हुँदा पनि अलि तंग्रिएपछि ‘डोपामिन सर्ज’ खोज्न पुगिहाल्छ । पुख्र्यौली जमिन वा सम्पत्ति नै बेचेर भएपनि आफ्ना सन्तानको लालनपालन, शिक्षा, दीक्षा, तालिम र क्यारियरको लागि उद्यत अभिभावकलाई समेत अबको पुस्ता गाउँ वा पुख्र्यौली घरमा नै छाडेर मदमस्त र फ्रि सहरिया वा आधुनिक जीवन रोज्दछ । भोलि आफू बृद्ध बन्नै नपर्ने जसरी अभिभावकलाई बुढाबुढी भन्दै लत्याउने जमात वर्तमानको यथार्थ बन्दैछ । आफ्नो शक्ति, पद, रुप वा सामथ्र्यको बलले आफ्नो चाहना र इच्छा पूर्तिको लागि कसैलाई पगाल्न, बेर्न, छोप्न, पेल्न, थिच्न, फुटाउन, जुटाउन वा केही गर्न बाँकी राख्दैन, अर्को पक्षको विना कुनै मतलब । गान्धीले तीन बाँदर मार्फत गरेको खबरदारी खराब नहेर्नु, नभन्नु र नसुन्नुुको खिलाफमा त यो समयले जंग र अभियानै छेडे जस्तो भयो । अबको आम मानिस जे अनुचित र खराब हो त्यही हेर्न, भन्न, सुन्न र गर्नमा उद्दत, लालायित र रोमाञ्चित देखिन्छ । मानौं अहिलेको यो फेसन, ट्रेन्ड वा लहर नै हो । युग र समाजको सम्बाहक, अभिभावक, शिक्षक, नेता वा सर्जकहरु नै मानौँ तृष्णाको चङ्गुलमा मदहोस भएर उल्टो दिशा लाग्दैछन । अरुको सम्पत्तिमा आँखा गाड्नु, जसरी हुन्छ कमाउनु, धाक जमाउनु, पद, शक्ति र नातागोताका भरमा आफू अनुकूल सार्वजनिक साधनश्रोत माथि कब्जा जमाउनुले समाज, समुदाय र समग्र मानव सास्कृतिको जग धरमर हुने नै भयो । यस प्रवृत्तिले गर्दा मानिस न अहिले सुखी, शान्त र स्वस्थ छ, न भोलिको पिँढीलाई नै सुखी, शान्त र स्वस्थ हुन दिनेवाला छ ।
अहिलेको शिक्षा जानकारीमा अत्याधिक आधारित देखिन्छ, बहुश्रुत हुनमा जोड छ । केही हदसम्म सीपमूलक र तर्क र कल्पना वा विश्लेषणमुखी सम्म छ । पेशा, व्यवसाय, समाज र कुनै पनि कर्म, व्यवहारमा ठीक बेठीक, उचित अनुचित, नीति संगत असंगत केलाउने पहुँच र ज्ञान अहिलेको ओझेलमा परेको शैक्षिक पक्ष हो । नीति नियम, आध्यात्म, विवेक, धर्मको प्रभाव आमस्तरमा नगन्य देखिन्छ । यसको कुरा गर्ने अधिकांशले पनि बाहिर सतहमा कुरा एउटा गर्ने, व्यवहार अर्को गर्ने वा राम्रो आदर्शको कुरा भजाएर भित्र आफ्नै मात्र दुनो सोझ्याउने स्वार्थ सिद्धिमा लीन हुने गरेको दृष्टान्तले जग नै भ्रमित भएको स्थिति छ । शिक्षाले वास्तवमा जीवन, समाज र भविष्य सहज, सरल, सफल, सम्पूर्ण र सुखद बन्दैछ कि जटिल, विफल, विखण्डित र दु:खद् बनाउँदैछ, हामी विना सोंच दिनपर दिन असङ्गगत र प्रगतिको तृष्णामा बसिभुत हुँदै गइरहेछौँ । यस्तो अवस्थामा कानुन, नीतिनियम, नैतिकता, अध्यात्म र धर्मको कुरा गौण बन्ने नै भयो । यथास्थितिलाई व्यक्तिगत, पारिवारिक, सामाजिक, राज्य र विश्व स्तरमै अनुकूलतामुखी परिवर्तनतिर डोर्याउन कानुन, नीति–नियम, नैतिकता र अध्यात्म र धर्मको विकल्प हुन सक्तैन । यिनले नै भुक्तभावमा अनियन्त्रित मान्छे मात्र लाई विभिन्न तहमा नियन्त्रणमा रहन वा राख्न सहायता पुग्नेछ ।
कानुन ९ीबध० – यसले समाज र तेस्रो पार्टर्ी सम्मलाई स्पष्ट रुपमा प्रभावित पार्ने खालका व्यवहारलाई वाञ्छनीय बनाउने निर्देशन दिन्छ ।
नीतिनियम र नैतिकता (ethics) – यसले कुनैपनि व्यवहारमा अर्को पक्ष अथवा जो, जे र जहाँ निकटको सम्पर्कमा छन्, तिनको हिसाबले पनि विचार, सोच र ख्याल राख्ने पहुँच सिकाउछ वा यस्तो निर्देशन दिन्छ ।
अध्यात्म (spirituality) – आफू, आफ्नो जीवनको उद्देश्य र अर्थलाई निर्देशित गर्ने दृष्टान्त दिन्छ भने धर्म (religion) ले वास्तवमा समुदाय प्रदत्तभन्दा पनि विश्वजनिन प्रकृतिजन्य नियमतिर डोर्याउँछ ।
आफैँप्रति, निकट दोश्रो पक्ष र अरु वा समाज वा तेस्रो पक्ष सबैप्रति मानसम्मान इज्जत राखौँ, हानि नहोस् , हित होस् , गोप्यतार विश्वसनियता राखौँ भन्ने सिद्धान्तले यी सबै पहुँचहरु निर्देशित रहन्छन् ।
यी पहुँचहरु परस्परमा परिपूरक रहन्छन । यथार्थमा आफूलाई न्याय, हित वा कल्याण गर्नेले कुनैपनि पक्षको न्याय, हित वा कल्याण नै गर्नेछन । अहित वा हानि गर्नै सक्तैनन् । अरुको इज्जत र गोपनियताको कदर गरेर आफ्नो इज्जत र व्यक्तिगत गोपनियताको पनि मान राख्छन् । कानुन, नीति, अध्यात्म र धर्म अत: परस्परमा पूरक र सहयोगी हुन्, न कि अन्तरविरोधी वा भिन्न ।
यस्तो पहुँचको लागि माध्यम भने मान्छेको मन नै हो । मनोविज्ञानको भाषामा, मनको ‘इड’ अंश बच्चा जस्तै ठीक बेठीक, उचित अनुचित र उपयोगी अनुपयोगी भन्ने सोच्दै नसोची यथाशीघ्र ज]कुरा पनि पाउन, हासिल गर्न, भोग्न लालायित रहन्छ । मीठो मसिनो खाइहालूँ राम्रो नरम र न्यानो लाइहालूँ , क्युट, ह्याण्डसम वा मनपर्ने हेरुँ, जे मन लाग्यो त्यो सुनूँ, सुनिरहूँ वा मनोहारी गन्ध सुगन्ध सेन्टमा लट्ठिउँm भन्ने ध्याउन्न रहन्छ । ‘सुपरइगो’ त्यसमा नियमकानुन, नीति, इथिक्स, अध्यात्म र धर्मको हिसाबले कडी लाउन खोज्छ ।‘इड’ र ‘सुपरइगो’ बीच सधैंँ द्वन्द चलिरहन्छ । ‘इगो’ यी दुई मनोवस्थाहरुको बीचमा सामञ्जस्य, सम्झौता गरेर सन्तुलन र सन्तोष खोजिरहन्छ, र हर कुरा बुझेर, परिणाम केलाएर, ‘इड’को इन्द्रिय सुख, भोग्ताभाव, भोगाइ, तृष्णा र तृप्ति तथा ‘सुपरइगो’को कडाइ, सुख्खापन, विमुखी प्रवृत्ति र अहम्को बीचमा विवेकी, सन्तुलित र सचेत खुसी ‘इगो’ खोजिरहन्छ । ‘इड’को खाइहालूँ, लाइहालूँ, सुनूँ, हेरुँ, सुघूँ वा भोगिहालूँ भन्ने अधिर उफ्राइमा ‘सुपरइगो’को लाठी ध्यानमा राखेर ‘इगो’ले कुनै कुरा गर्दा नियमसम्मत छ छैन, सजायाको भागी हुनुपर्ने पो हो कि, समाज, संस्कृति, परम्पराले सिकाए अनुरुप नभई बन्धुबान्धव, इष्टमित्र, छरछिमेक, समाज, परिवार, राज्यको अहित पो हुने हो कि, आफ्नै तन, मन र सामाजिक स्वास्थ्य अनुकूल छ छैन र समग्रमा आफ्नो जीवन उद्देश्य संगत हो होइन भनेर सम्झाएर मनको माध्यमबाट खुसी पाउने चेष्टा गर्दछ । उसलाई यस कुरामा, नियमकानुनले स्पष्ट रुपमा अरुको हानि नगर्न, नलुट्न, चोरी नगर्न निर्देशन दिन्छ । इथिक्सले सँगै रहेबसेका अरुको ख्याल राख्न र त्यो अर्को पक्षको हिसाबले मिल्ने नमिल्ने पनि सोच्न प्रेरित गर्छ । प्रकृति धर्मले सार्वजनिक स्वभाव र प्रकृतिप्रदत्त हिसाबले आचरण, व्यवहार वा भोगाइ सम्पूर्ण स्वास्थ्य संगत राख्न भन्छ भने अध्यात्मले खाने, लाउने, हेर्ने, सुन्ने लगायत यावत इन्द्रिय भोगाइ र सुखले जीवनको लक्षसँग एकाकार हुनमा सघाउँछ कि दिग्भ्रमित भनि सवाल गर्छ र सम्झाउने गर्छ । यी कुराहरुले मान्छेलाई भोकका वावजुद पनि लुटेर नखान भन्छ, थकाइको अवस्थामा पनि बसमा महिलाको सिट महिलालाई नै छाड्नुपर्ने कुरा दर्साउँछ, परपुरुष र महिला र वेश्यागमन नगर्न र कमसेकम कन्डम प्रयोग गर्न पनि भन्छ । चेतनाको उच्च तहमा हर घडी, जे गरेपनि, जे जस्तो इन्द्रिय सुख, अनुभव र भोगाइले पनि जीवन लक्षको कति समीप लग्छ भनी सोधेर झक्झक्याइ रहन्छ । आफूलाई नमरी अरु मानिस, जगत् र समाजको निमित्त सोच्ने, काम गर्ने र अनुभूत गर्ने स्वरुपमा हुने चारित्रिक अनुवादले मान्छे जीवनको लक्ष्य नजिक पुग्ने हो ।
वास्तविक खुसी र यस्तो सन्तुलनको लागि मनलाई बसमा राख्ने प्रज्ञाको उपयोग गर्नुपर्छ, अनुशासनमा रहनुपर्छ र समाधी धारण गर्नुपर्छ । भगवान् बुद्धले वैज्ञानिक रुपमा मिहिन भावातीत प्रज्ञाद्वारा यसको लागि चतुरआर्य सत्य मनन गरेर, आर्यअष्टाङ्गिक मार्ग अपनाउनुपर्ने तथ्य औंल्याउनुभयो । दशपारमिता पुरा गरेर अर्थात् आफूमा धैर्य, क्षान्ति, विर्य जस्ता गुणहरु विकास गरेर मंगलसुत्र धर्म पालना गर्ने उपदेश दिनुभयो । आफैं नै सजग र प्रकाशित भएर जीवन र जगत्मा आइपर्ने यावत कुराप्रति तटस्थ रहेर व्यहोर्ने तथा, इन्द्रिय सुखको भुग्ताभावदेखि संयमित, सचेष्त रहने उपायले नै वास्तविक खुसी हासिल हुने हो ।