चरीलाई कविता
डा. उदेश पाण्डे
गोंगबु, काठमाडौँ
एउटी चरी
एकाबिहानै आइपुग्छे झ्याल अगाडि
र, गीत सुनाउछे आफ्नो–
अनि भन्छे– “अब तिम्रो पालो ।”
खाली कागज– खाली छ वर्षौ भयो ।
कलमले बिर्सियो होला– आफ्नै मसीको रङ्ग ।
मात्र गुजुल्टो छ एउटा– सम्भावनाहरूको
सोच्छु– गाँठो फुकाएर पहिले
अनि, बुनौँला कविता ।
म कहाँ हराऔँ ?
कि कतै नजाऔँ ?
हेरिराखौँ एउटा कुनामा बसेर–
आउँदै जाँदै गरेका मान्छेहरूलाई ?
कि बन्द गरेर आँखा– सुतिदिउँ बीच जंगलमा ?
पल्टिरहेँ भने यही माटोमा–
जराहरू उम्रेलान्–
शिर पछाडिबाट, गर्धनको खोँचबाट,
ढाडका मांसपेशीहरूबाट, पिडौला–कुर्कुच्चाबाट ।
फुल्छन् होला फूल–
परेलीको बीचबाट, ओठहरुको कुनाबाट
छातीको माझमा, औँलाका कापहरुमा ।
म पनि रूख बनेँ भने–
ए चरी, तिमी आइदियौ है थकान मेट्न,
छड्के घामसँगै गीत सुनाउन ।
आफ्नो चुच्चोले
फुकादेऊ मनको गाँठो–
छुट्याइदेऊ रेसाहरू ।
रूखका रेसाहरूले त बन्छन् कागज ।
फूलका रसहरूले मसी बनाउँला–
अनि, तिमीलाई कविता सुनाउँला ।