जीवन : एक रङ्गमञ्च
डा. असीम महत
सालकोट अस्पताल
सुर्खेत
जीवन एक रङ्गमञ्च हो । हामी नेपथ्यबाट झुल्किन्छौँ र नेपथ्यमै बिलाउछौँ । मञ्चमा सबैको निश्चित समय तोकिएको हुन्छ । कोही छिटो बिदा माग्छौँ , कोही ढिला छुट्टिन्छौँ । हाम्रो भूमिका हेरेर कोही हाँस्छन्, कोही रुन्छन्, कोही घृणा गर्छन्, कोही धेरै माया । अनि यी भूमिका निभाइरहदा हामी पनि अनगिन्ती अनुभवहरु सँगाल्न पुग्छौँ, कुनै घोच्ने, कुनै दुख्ने, कुनै ब्युझाउने अनि कुनै जीवनको मजा चखाइ जाने ।
वास्तवमा बाटो भिन्न भएपनि, कर्म फरक भएपनि, हामी सबैले जिन्दगीमा देख्ने, भोग्ने घटनाहरु मिल्दाजुल्दा नै हुन्छन् ।
पश्चिम नेपालको मध्यपहाडी दुर्गम भेगमा ठुलो जनसंख्यामा एक्लो चिकित्सकको दरवन्दीमा काम गरिरहँदा मैले त्यस्तै कैयौं घटनाहरु देख्ने गर्छु अनि ती घटना भित्रका लुकेका कथाहरुले मलाई जीवनका अनेक पाटाहरु दर्साइ जान्छन् ।
१. तिरस्कार
चकमन्न रात । एक कलिलो महिलालाई प्रसव पीडामा अस्पताल ल्याइयो । समय नपुग्दै व्यथा लागेको रहेछ । एकैछिनमा बच्चा जन्मियो । बच्चाको तौल निकै कम, सास फेर्न निकै गाह्रो परिरहेको अनि शरीरमा अक्सिजनको मात्रा निकै कम । हामीले तुरुन्तै सदरमुकाम जान आग्रह गर्यौँ । तर बिडम्बना जन्म छोरीको जो भएको थियो । आज नै रगतसँग खेलेर भर्खरै जन्मेकी छोरी देखेर पनि आमा एकदमै निराश थिइन् । बुवा र बाँकी आफन्त निन्याउरो अनुहार लगाएर बसेका थिए । उनीहरु सदरमुकाम जान आनाकानी गर्दैथिए । धेरै सम्झाएपछि नाटकीय रुपमा जानेझै गरे अनि रातको अँध्यारोमा बिलाए । मेरो मनमा शङ्का भने जाग्न थाल्यो । भर्खर जन्मेकी त्यो नवजात प्राणीको दुर्दशा देखेर म सोच्ने थालँे, आखिर दोष कसको ? अक्सिजन अटाउन नसक्ने उसको छातीको या बुद्धि विवेक नअटाउने आफन्तको ?
२. माया
एक सामान्य शनिवारका दिन विष सेवन गरेका दुईजनालाई इमेर्जेन्सिमा ल्याइयो । नाताले आमा छोरा रहेछन् । छोरा करीब १३ वर्षको मात्र । आमाको अवस्था एकदमै नाजुक थियो र चिन्ताजनक थियो भने छोराको केही सामान्य नै । छोरा घरी घरी आमालाई पुलुक्क हेथ्र्याे । आँखाका डिलमा आँसु ल्याएको थियो । कुरा बुझ्दा घरायसी कारणले आमाले विष सेवन गरेकी रहेछन् र यो देख्ने बित्तिकै छोराले पनि आमा मरेपछि एक्लै किन बाँचिरहनु भन्दै खएको रहेछ । हामीले गर्न सक्ने जति गरेर सदरमुकाम पठायौँ । पछि खबर पाइयो आमाले संसार छोडिन्, छोराको क्रमिक रुपमा सुधार आएको थियो । यो घटनाले मलाई घोचिरह्यो । लाभ, देखावटीपन, कृत्रिमतामा रुमल्लिएर माया हराउँदै गरेको यो धर्तीमा निस्वार्थ माया अझैपनि बाँकी रहेछ आफ्नो शुद्ध रुपमा थोरै मात्र भएपनि । त्यो बालकले चालेको कदम नितान्त गलत भएपनि उसको आमा प्रतिको मायाले भने मलाई झक्झकाइरह्यो ।
३. अन्धविश्वास
एकजना शिक्षक ओ.पि.डि. मा आफ्नो किशोर छोरालाई लिएर आए । छोरालाई हनहनी ज्वरो आएको थियो । जाँच गर्दा टाइफाइड देखापर्यो । हामीले सोहीअनुसार औषधि राखेर भर्ना गर्यौँ तर २–३ दिनमा पनि अवस्था सुध्रिएन । ज्वरोले पनि बाटो छोडेन । अन्तत उपचारका निम्ति सदरमुकाम जान सिफारिस गर्यौँ। छोरा सहित उनी अस्पतालबाट बिदा भए । तर अचम्म दुई दिनपछी त्यही छोरालाई लिएर अझै शिथिल अवस्थामा आए । कुरा खोतल्दै जाँदा थाहा भयो कि हामीले सिफारिस गरेको दिन उनी छोरा लगेर धामीझाँक्री कहाँ गएका रहेछन् । झारफुकले केही सुधार आएको भान भएपछि ढुक्क भएर घर तिर गएछन् । यो घटनाले मलाई निचोडमा पुर्यायो की हामी जतिसुकै सूचना, प्रविधि, जनचेतना भन्दै उफ्रे पनि यो समाजमा जन्मिदै, हुर्कदै गर्दा हामी भित्र नयाँ क्रोमोजोम थपिने रहेछ – अन्धविश्वास,जुन मौका पायो कि प्रस्तुत भैहाल्दो रहेछ ।
४. बाध्यता
एक जना दिदी, अस्पताल नजिकैको गाउँको, बिरामी भएर थला पर्न लागेको बेला अस्पताल आएकी थिइन् । हामीले भर्ना गरेर औषधि सुरी गर्यौँ । अवस्था क्रमिक रुपमा सुध्रिदै गयो । बिस्तारै दिदी राउण्डको समयमा टुप्लुक्क आइपुग्ने र दिनभरि अस्पताल परिसरबाट हराउने गर्न थालिन् । हामीले हैरान भएर प्रश्न गर्दा थाहा पायौँ की दिनभरि गाइभैंसी चराउन जाँदिरहिछन्, हातमा क्यानुला सहित । थोरै हकार्न खोज्दा स्पष्टोक्ती व्यक्त गरिन् , “घरमा स्कुल जाने दुइटा नानीमात्र छन् । कमाइ केही छैन । यही वस्तुभाउले जीवन धान्दै आएको छु । रेखदेख त गर्नु पर्यो नि सर ।” यति सुनेपछि म केही बोल्नै सकिनँ । आखिर जीवनको एक अभिन्न पाटो “बाध्यता” पनि त रहेछ नि । हामी जतिसुकै स्वतन्त्र भएर जीवनको रेसमा दौडिन्छौँ भने पनि बाध्यता नामको एक कसिलो डोरी हाम्रो कम्मरमा टिपिक्क टाँसिने रहेछ जसले कहिले हाम्रो दिशा फेरिरहन्छ त कहिले गति ।
५. आशा
करिब साठी नाघेका एक बाजे करिब चालीस नाघेकी एक महिलासँग अस्पताल आए, भिडियो एक्सरे गर्ने भनेर । ती महिलाले केही दिन अघि पिसाब जाँच गर्दा बच्चा बसेको थाहा पाएकी रहिछन् तर पछिल्लो दुई दिन यता योनीबाट रगत बग्न थालेपछी चिन्ताग्रस्त देखिन्थिन् । भिडियो एक्सरे गर्दा गर्भपतन भैसकेको देखियो । ती बाजे झनै निराश भए । कुरा बुझ्दा थाहा भयो कि ती महिला बाजेकी पाँचौ श्रीमती रहिछन् । अघिका चार श्रीमतीबाट जम्मा जम्मी एघार छोरी रहेछन् । प्राय: बिहे गरेर गइसकेका । बाजेलाई भने छोरा जन्माउने आश अझै मरेको रहेनछ । यो सुनेर हामी दंग पर्याँै । वास्तवमा भन्ने हो भने जिन्दगी आखिर आशैआशमा त बित्ने गर्छ नि । आशाहरु भनेका त एउटा पिपलको रुखबाट झर्दै गरेका पातहरु हुन् । जुन सुल्टो पल्टिन्छ, उल्टो पल्टिन्छ वा हावाको वेगसंगै हुत्तिएर हराउँछ, केही निश्चित हुँदैन तर पनि त्यो पात हावामा तैरिदै गर्दा जुग बितेको पत्तै हुदैन ।
६. हर्ष
दुई जना बाजेबज्यै, सत्तरी नाघेका । एक साँझ इमर्जेन्सिमा आइपुगे । बेलुकीमात्र जुम्लाबाट झरेका रहेछन् । दुबैको दम बढेर निकै निसास्सिएका थिए । एक वचन बोली फुट्न सकिरहेको थिएन । हामीले उपचार थाल्यौँ । विस्तारै उनीहरुको बोली खुल्न थाल्यो । हिडडुल पनि गर्न थाले र अवस्थामा धेरै सुधार आयो । हप्ता दिनको बसाइँ पछि बिदाइ गर्दा बिछट्टै खुसी देखिन्थे । अनुहार धपक्कै बलेको थियो । बज्यै भन्दै थिइन् , “हामीले त्यो रात आफ्नो अन्तिम ठानिसकेका थियौँ नि ।” यति भन्दै शब्दमा अटाउने जति र अनुहारमा व्यक्त गर्न मिल्ने जति आशीर्वाद दिएर उनीहरु बाटो लागे । म भने घोत्लिन थालँे, हामी मान्छेहरु जीवन भर अरुको रिस र इष्र्या गर्दै बस्छौँ र दुखी हुने बाटो खोज्छौँ । हाम्रा खुसीहरु अरुलाई निर्धारण गर्ने जिम्मा दिन्छौँ । आखिर साँचो खुसी आफ्नै एक मुठी सासमा त लुकेको हुँदो रहेछ, होइन ?